३३ वर्ष पूरा भए मेसी : अर्जेन्टिनाको जर्सीमा अभागी, बार्सिलोनामा कीर्तिमानी

अन्तर्राष्ट्रिय फुटबलमा स्पेनिस क्लब बार्सिलोना र फरवार्ड लिओनल मेसी पर्याय जस्तै हुन्। किनकी मेसीले बार्सिलोनाका उपाधि मात्र दिलाएका छैनन् दर्जनौ कीर्तिमान बनाएका छन्।बुधबार ३३ वर्ष पूरा भएका मेसीले २००४ मा बार्सिलोनामा डेब्यू गरेका थिए। त्यसयता उनले ला लिगामा ४७८ खेल खेल्दै ४४० गोल गरेका छन्। यो स्कोर बार्सिलोनाका लागि मात्र होइन ला लिगाको पनि सर्वाधिक हो।मेसीले बार्सिलोनाबाट ३४ ट्रफी उचालिसकेका छन्।

त्यहि प्रदर्शनको आधारमा उनले ६ पटक बालन डि’अर अवार्ड आफ्नो पोल्टामा पारेका छन्। मेसी ६ पटक युरोपियन गोल्डेन सु अवार्ड हात पार्ने खेलाडी पनि हुन्।अनेकौ कीर्तिमान बनाएका मेसीले सन् २०१२ मा क्लब र देशका ९१ गोल गरेका थिए। उनले सो वर्ष बार्सिलोनाका लागि ७९ गोल र अर्जेन्टिनाका लागि १२ गोल गरेका थिए। यी गोल ६९ खेलमा सम्भव भएका थिए।बार्सिलोनाका लागि ६२९ गोल गरेका मेसी २०औं शताब्दीका महान् खेलाडी पेलेको कीर्तिमान तोड्नबाट १४ गोल टाढा छन्।

ब्राजिलियन लिजेन्ड पेलेले सन्तोस क्लबका लागि ६४३ गोल गरेका थिए। उनी एकै क्लबका लागि बढी गोल गर्ने खेलाडी हुन्। यो कीर्तिमान मेसीले निकट भविष्यमै तोड्ने सम्भावना छ।मेसीले अहिलेसम्म ला लिगाको १० ट्रफी उचालिसकेका छन् भने ४ पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेका छन्। ६ पटक कोपा डेल रे, ३ पटक फिफा क्लब विश्वकप, ३ पटक युइएफए सुपरकप, ७ पटक स्पेनिस सुपरकप हात पारेका छन्। मेसी करिअरको ७ सय गोलको नजिक छन्। क्लबका लागि ६२९ गोल गरेका उनले देशका लागि ७० गोल गरेका छन्।

 

Comments (0)
Add Comment